नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

