आर्सनल र म्यानचेस्टर सिटी विजयी हुँदा लिभरपुल बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी हुँदा लिभरपुलले भने बराबरी खेलेको छ । शनिबार राति भएको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० पराजित गरेको हो ।

आर्सनलको जित दिलाउन गाब्रिएल मार्टिनेलीले गोल निर्णायक रह्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा लिभरपुलले एक गोल गरेको थियो । खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।



आर्सनल

त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल आर्सनलले १-० ले जित्यो । त्यसअघि खेलको २७ औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोल गरेपनि भीएआरको माध्यमबाट अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन । जितसँगै आर्सनल २४ खेलमा ५७ अंकजोड्दै शीर्ष स्थानमा छ भने २४ अंक जोडेको लेस्टर सिटी १४ औं स्थानमा रहेको छ ।

त्यसैगरी शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-१ ले पराजित गरेको छ । एकतर्फी बनेको खेलमा खेलको १५ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २९ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए ।

म्यानचेस्टर सिटी

यस्तै ४५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए । त्यसैगरी खेलको ५१ औं मिनेटमा बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सिटी ४-० ले अघि रह्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा बर्नेमाउथका जेफरसन लेर्माले एक गोल गरेपनि यो ढिलो भइसकेको थियो र खेल म्यानचेस्टर सिटीले ४-१ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक जोड्यो । जितसँगै सिटी २५ खेलमा ५५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने २१ अंक जोडेको बर्नेमाउथ १९ औं स्थानमा रहेको छ ।

त्यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा दुवै टोलीबाट गोल नहुँदा खेल गोलरहित बराबरीमा सकिएको हो । यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । बराबरीसँगै लिभरपुल २३ खेलमा ३६ अंक जोड्दै सातौं स्थानमा छ भने २७ अंक जोडेको क्रिस्टल प्यालेस १२ औं स्थानमा रहेको छ ।

लिभरपुल

यसैगरी प्रिमियर लिग अन्तर्गत नै अन्य खेलमा वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ४-० ले लिड्सले साउथह्याम्पटनलाई १-० ले र एस्टन भिल्लाले एभर्टनलाई २-० ले पराजित गरेको छ ।

 

सम्बन्धित समाचार