सर्वोच्चद्वारा सन्दीपलाई विदेश जान अनुमति, दियो यस्तो आदेश

सर्वोच्च अदालतले नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान दिने निर्णय गरेको हो । आज (सोमबार) सर्वोच्चले लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो ।



अदालतको आदेशबारे जानकारी दिँदै प्रवक्ता विमल पौडेलले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएको हुनाले विदेश जान रोक नलगाउनु, सम्बन्धित निकायलाई विदेश जान दिन दिलाउन लेखी पठाउन आदेशमा भनिएको छ ।’

सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनमा नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो । तर विदेश जान वञ्चित गरेको थियो । सर्वोच्च अदालतले विदेश जानका लागि बाटो खुला गरिदिएको छ । आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो । उच्च अदालतकको आदेशपछि सन्दीप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । उक्त मुद्दामा आइतबार र सोमबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेकोमा उनलाई जिल्ला अदालत काठमाडौंले भदौ २३ गते सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार