युएईलाई पराजित गर्दै नेपाल यू-१९ टोली विश्वकपमा

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा आयोजक युएईलाई पराजित गर्दै यूएईलाई हराउँदै नेपाल विश्वकपमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा युएईलाई सात रनले पराजित गर्दै नेपाल यू-१९ टोली आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपमा प्रवेश गरेको हो ।

युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङगरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले भने विशालविक्रम केसीले ३८ रन बनाए । त्यस्तै उत्तम थापा मगर ३६ रन बनाई आउट भए भने दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन जोडे । युएईका लागि ध्रुव परासरले ३ विकेट लिए भने, हरित सेट्टी र कप्तान आयन खानको भागमा समान २-२ विकेट रह्यो । यस्तै हर्षित सेठ र अमर बदामीले समान १-१ विकेट लिए ।



१९२ रनको लक्ष्य लिएर मैदान उत्रेको युएई ४८ ओभरमा १८४ रनमा समेटियो । युएईका लागि इथन डिसुजाले ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आर्यन सक्सेना ३४ रन बनाई आउट भए भने आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ र मारुफ मर्चेन्टले १२ रन बनाए । नेपालका लागि दिपेश कँडेलले ह्याट्रिकसहित ५ विकेट लिए भने सुवास भण्डारी र हेमन्त धामीको भागमा समान २-२ विकेट रह्यो ।

२०१६ को विश्वकपपछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार