नेपाल युएईसँग पराजित

युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खान र रोहन मुस्ताफले अर्धशतकीय पारी खेल्दा क्रमश: ७२ र ५२ बनाए भने आर्यन लाक्राले २८ रन बनाए । त्यस्तै कप्तान सीपी रिजवानले २२ राना बनाई आउट भए भने वृत्य अरविन्दले १८ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखको भागमा समान १-१ विकेट रह्यो ।



२०८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन जोडे । युएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३-३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट लिँदा जाहोर खान र सविर अलिको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ भने नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार