आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो । पीएनजीका लागि टोनी उराले ३९ रन बनाए भने हिरी हिरीले ३१ रन जोडे । त्यस्तै किप्लीन डोरीगा २६ रन बनाई आउट भए भने गौडी टोकाले १५, नर्मन भानुवाले १४ र सेसे बाउ र कप्तान असद भालाले समान ११-११ रन बनाए ।



नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको भागमा समान १-१ विकेट रह्यो । १८० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाललाई जित दिलाउन ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेका थिए ।

सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको कीर्तिमानी हो ।आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे । यस्तै कुशल मल्लले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । पीएनजीका लागि असद भालाले ३ विकेट लिए भने सिमो कमया र सेसे बाउको भागमा समान २-२ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो । यता पपुवा न्यु गिनीभने पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थोयो । नेपाल ३१ खेलमा १३ मा जित र १४ मा हारसहित ३० अंकसहित छैटौं स्थानमा छ भने ३१ खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोडेको पीएनजी पुछारमा रहेको छ । अब नेपालले चौथों तथा अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।

 

सम्बन्धित समाचार