नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिएका छन् । आइतबार काठमाडौँमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?’ उनले भने । भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताउँदै कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्ने बताए ‘
उनले भने, ‘हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ ।’
माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासोसमेत उन्लेर गरे । ‘पहिलो संविधानसभाबाट संविधान बनाएर जान सकेको भए योभन्दा राम्रो संविधान, सेना समायोजन र सहिद तथा बेपत्ता पारिएकासम्बन्धी आयोगको काम समयमै सम्पन्न हुने थियो । तर अभागीलाई खानेबेला रिस उठ्छ भने जस्तै हामीलाई रिस उठ्यो त्यो बेला, हामीबीच एकता हुन सकेन’, उनले भने । नेतृत्व मोहका कारण राजनीतिमा पुस्तान्तरण हुन नसकेको उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको बलिदानको कदर हुन नसक्नु दुःखद भएको बताए । उनले भने, ‘देशको अवस्था परिवर्तन हुन नसके, सहिदहरूको बलिदानको सम्मान हुन नसके फेरि अर्को क्रान्ति अगाडि बढ्नेछ ।’
माओवादी धारका विभिन्न पार्टीका नेता उपस्थित कार्यक्रममा सहिद तथा बेपत्ताका योद्धा सन्तति फाउन्डेसनका सदस्यहरूले माओवादीहरू एक भएर अघि बढ्न सुझाव दिएका थिए । बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सबै धारका माओवादी एक हुनपर्ने सुझाव दिए ।