नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
माओवादी धारका ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन माओवादीका शीर्ष नेताले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका हुन् । ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने’ पहिलो निर्णयमा भनिएको छ ।
‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्दछ ’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्ने पनि निर्णय गरिएको छ । ‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा(माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाललगायतको सहभागित रहेको थियो ।
विज्ञप्ति –