नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।
गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । शुक्रबार गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली रहेका छन् ‘ उनीहर्र्ले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि शुक्रबारै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।
एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
२७ सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।