नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।
आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय भएको छ । ‘
त्यस्तै बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । जसमा चितवन-२मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ-१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा-२मा केन्द्रीय सदस्य गणेश कार्की रहेका छन् । यस्तै बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताए ।