प्रजातान्त्रिक आन्दोलका योद्धा प्राडा अधिकारी जीवन मरणको दोसाँधमा

प्राज्ञिक व्यक्तित्व प्राडा यज्ञप्रसाद अधिकारी रोगले थलिएर अरूको सहाराविना हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेको धेरै भइसकेको छ । बीपी कोइरालाको सैद्धान्तिक आदर्श र प्रेरणाबाट प्रभावित अधिकारी लामो समयसम्म नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्कका रूपमा परिचित र गतिशील रहे पनि रोगले चलिएपछि उनी अहिले सबैतिरबाट उपेक्षित जीवन बिताउन बाध्य बनेका छन् ।

विसं २०१० साल वैशाख ४ गते पर्वत जिल्लाको लिखु देउरालीमा जन्मिएका अधिकारीको प्रारम्भिक शिक्षा आरम्भ पर्वत जिल्लाको भोक्सिङस्थित महेन्द्र ज्योति माविबाट भयो । पढाइलाई निरन्तरता दिने क्रममा उनी विभिन्न स्कुल र क्याम्पससँग जोडिन पुगे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि उनी २०४२ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन सेवामा जोडिए ।



विसं. २०५१ मा बनारसको हिन्दू विश्वविद्यालयबाट नेपाली काङ्ग्रेसको विदेश नीति विषयमा विद्यावारिधी प्राप्त गरेका अधिकारीले ०५९-०६० मा त्रिविबाट प्राध्यापकको उपाधिसमेत पाउन सफल भएका थिए ।
अधिकारीका राजनीतिक र गैरराजनीतिक गरी एक दर्जनजति कृतिहरू तथा थुप्रै फुटकर लेख–रचनाहरू पनि प्रकाशित छन् ।

राजनीतिक सम्पर्क र संलग्नता :
अधिकारी निम्न माध्यमिक तहको विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय देखिन्छन् । उनी २०२६ सालमा सरस्वती निमावि लामेमा विद्यार्थी संघको सभापति बने । त्यसपछि २०३१ सालमा सम्पन्न स्वत्रन्त्र विद्यार्थी युनियनको पहिलो निर्वाचनमा नेविसंघको तर्फबाट भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट सभापति पदमा निर्वाचित भए ।
बीपी कोइरालाका कारण नेपाली काङ्ग्रेस पार्टीसँग नजिकिएका अधिकारी प्रजातान्त्रिक गतिविधिमा निरन्तर लागिरहे । निर्दलीय पञ्चायती कालमा प्रजातान्त्रिक गतिविधिमा लागेका कारण उनी पटक पटक जेलमा परे तैपनि अधिकारीले स्वार्थबस् आफ्नोे आस्था परिवर्तन गरेनन् ।

अधिकारीका उल्लेखनीय राजनीतिक र सामाजिक भूमिका र जिम्मेवारीहरू (कालक्रमका आधारमा) :
– विसं २०३३ सालमा वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्कनका लागि राष्ट्रका नाममा गरेको अपिल वितरणका क्रममा २०३३ पौषमा काठमाडौंमा पक्राउ परी राजबन्दीका रूपमा नौ महिनासम्म जेल जीवन बिताउन बाध्य ।
– २०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा त्रिवि केन्द्रीय क्याम्पस सभापतिमा विजयी ।
– २०४२ सालको नेपाली काङ्ग्रेसले आव्हान गरेको भद्र अवज्ञा आन्दोलन (सत्याग्रह) मा सहभागी जनाइएवापत गिरफ्तारीमा परी लामो समयसम्म गौर जेलमा ।
– २०४६ सालको जनआन्देलनको तयारीका क्रममा गिरफ्तार । प्रजातन्त्र पुनःस्थापनापश्चात जेलमुक्त ।
– २०६२-०६३ को आन्दोलन सफल बनाउन सक्रिय भूमिका खेलेको ।
– नेपाली काङ्ग्रेसका २०४८ पछिका सबै महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा सहभागिता जनाएको ।
– नेपाली काङ्ग्रेसको केन्द्रीय विभागको पदाधिकारी भई काम गरेको आदि ।

रोगबाट पीडित :

उनी त्रिभुवन विश्वविद्यालयको जागिरबाट विसं २०७३ निवृत्त भएको २ वर्षपछि अर्थात् २०७५ वैशाख १४ गते ब्रेन स्टोक भयो र तत्काल उनलाई न्युरो अस्पताल भर्ना गरियो । प्राकृतिक चिकित्सादेखि आयुर्वेदिक उपचारसम्म सबै उपाय गरियो तर पनि नौ महिनापछि पुनः ब्रेन हेमरेज भयो । ब्रेन हेमरेजपछिको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भयो । बोली हरायो । समयले उनलाई मृत्यु एकदमै नजिकै रहेको महसुस गरायो ।

तीनमहिनापछि बोली फुट्यो । बोली फुटेको पहिलो वाक्यमा नै उनले आफ्नोभन्दा पनि देशप्रतिको चिन्ता प्रकट गरे रे । यसबाट पनि उनको देशप्रेमलाई बुझ्न सकिन्छ । उपचारको क्रम जारी थियो । थप उपचारको लागि दिल्लीस्थित एम्स अस्पताल लगियो । दिल्लीको ३५ दिनको बसाइपछि स्वास्थ्यमा केही सुधार भयो तर पनि दाहिने हात र खुट्टा भने स्वाभाविक रूपमा चल्न सकेनन् । अहिले पनि कसैको सहाराविना हिँडडुल गर्न सम्भव छैन ।

पारिवारिका स्रोतका अनुसार अब पनि उनलाई उपचारको सिलसिलामा यथाशीघ्र दिल्ली लगिनुपर्ने अवस्था छ । राम्रो होला कि भन्ने आशा हराएको छैन । प्राडा अधिकारी अहिले धेरै बोल्न सक्ने अवस्थामा पनि छैनन् । मुस्किले मात्र दुईचार कुरा राख्न सक्छन् । उनी भन्छन् ‘अहिले म जेजस्तो अवस्थामा छु, त्यो सबै मेरी श्रीमती भुवन थपलियाको अथक परिश्रम र शुश्रूषाका कारणले मात्र सम्भव भएको हो । उनको यस किसिमको माया र स्याहार नपाएको भए आजसम्ममा के भइसक्थ्यो भन्न सक्दिन ।’

पारिवारिक पृष्ठभूमि र सरकारी सहयोग :
पहिलो श्रीमतीले छोडेर हिँडेपछि अधिकारीले २०६५ सालमा भुवन थपलियासँग दोस्रो विवाह गरेका थिए । पहिलोपट्टिको एउटा छोरा छन् । अधिकारी दम्पत्ति हाल भरतपुर महानगरपालिका १० मा बस्दै आएका छन् । उनको आर्थिक पाटो पनि खास्सै बलियो देखिँदैन तर स्वाभिमानी भएका कारण कसैसँग पनि हात फैलाउन सकेका छैनन् । त्यसैले पनि उनलाई न राज्यले न आफूले योगदान दिएको नेपाली काङ्ग्रेस पार्टीले नै, हालसम्म कसैले पनि एउटा प्राज्ञिक व्यक्तित्वको घाउमा मलम–पट्टी लगाउने कार्यमा हात बढाउने प्रयास गरेको देखिँदैन ।

बीपी कोइरालाका समयमा प्राडा अधिकारीलाई एकपल्ट नाकबाट धेरै ब्लिडिङ भएछ । उनको अवस्था देखेर बीपीले उनलाई उपचारका लागि दुईजना साथीसहित तुरुन्त भारतको भेल्लोर पठाएका थिए रे । यस घटनाबाट पनि बीपी र अधिकारीबीचको सम्बन्धलाई अनुमान गर्न सकिन्छ । तर त्यसपछि आएका काङ्ग्रेसको नेतृत्वले बीपीको सिद्धान्तप्रति निष्ठावान र प्रतिबद्ध अधिकारीलाई खास्सै महत्व दिएनन् । सम्भवतः यही कारण आज आफू असक्त भएको बेलामा अधिकारीले नितान्त एक्लो महसुस गर्नु परेको अवस्था छ ।

अधिकारीका प्रकाशित कृतिहरू :

  1. B.P. Koirala Memorial Treatise-2014
  2. B.P. koirala’s Deliberations on Democracy, Nationalism and Socialism (2014)
  3. Social Democracy and Its Application in Nepal (2014)
  4. Reforming Election System (2013)
  5. Nepalese Local Governments: Absence of Popular Representatives (2005)
  6. Governance and Rural Capability Building (2001)
  7. The Nepali Congress: Idealism to Realism (2001)
  8. Democratic Polity in Nepal and a Question of Socialist Transformation (Nepalma Prajatantra Ra Samajbadi Rupantaranko Prashna)(2001)
  9. Nepal’s Foreign Policy during Nepali Congress Government 1959-60 (2000),
  10. 10   Social Justice in Nepalese Context (2000)
  11. Past Days of Nepali Congress on Foreign Policy (200)

सम्बन्धित समाचार