नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । ‘जुन-जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ’, नेता श्रेष्ठले भने ।
प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिनुभएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा सहमति भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गरौँ भनिएको हो’, उनले भने ।
यसअघि बुधबारको सत्ता गठन्धनको बैठकमा मन्त्रालयको भागवण्डाको सहमति भएको थियो । जसअनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले र जसपाले समान २-२ मन्त्रालय पाउने बालुवाटार स्रोतले बताएको छ ।
त्यस्तै बैठकमा जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको छ । स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । त्यस्तै सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पनि कुनै मन्त्रालय छैन ।