नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकले मन्त्रिपरिषद् विस्तार आज (शुक्रबार) गर्ने निर्णय गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यद्यपि बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तारको मिति शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको
भएको छ । सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यसअघि बुधबार बसेको सत्ता साझेदार दलहरुबीचको बैठकमा कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जसपा समान २–२ मन्त्रालय पाउने सहमति भएको थियो । त्यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको थियो ।