नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा मन्त्रिपरिषद्को विस्तार र नयाँ मन्त्रीहरुको शपथको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा आजका लागि सारिएको थियो ।