नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आज (शुक्रबार ) प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेपनि सरकारले अझै पूर्णता पाउन सकेन । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । जसमा नेपाली कांग्रेसबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ रहेका छन् ।
त्यस्तै नेकपा(माओवादी केन्द्र)बाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रुपमा प्रकाश जवाला नियुक्त भएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक भएकी हुन् । यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय आफैंसँग राखेका छन् ।
नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । आज (शुक्रबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ ग्रहण गर्नेहरुमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ छन् ।
यस्तै, नेकपा(माओवादी केन्द्र)बाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । यता नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रुपमा प्रकाश जवालाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् ।
यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिएकी छिन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता थियो ।