उपनिर्वाचन : कांग्रेस, एमाले र रास्वपाबाट को-को छन् उम्मेदवार ?

आगामी वैशाख १० गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरु उम्मेदवार बनाउँदै छन् । उपनिर्वाचन चितवन क्षेत्र नं २ तनहुँ क्षेत्र नं १ बारा क्षेत्र नं २ मा हुँदैछ । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो । यस्तै बारा क्षेत्र नं २ रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।



यी हुने नेपाली कांग्रेसका उम्मेदवार
नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यता बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ ।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो स्थान रिक्त भएको हो ।

यसैगरी चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि सो स्थान रिक्त भएको हो । निर्वाचन आयोग नेपालले तीन वटै निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

नेकपा (एमाले)बाट को-को छन् उम्मेदवार ?

नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

बैठकले चितवन-२ मा रामप्रसाद न्यौपाने र तनहुँ-१ मा सर्वेन्द्र खनाललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

बारा-२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त निर्वाचन क्षेत्रमा आइतबारसम्ममा उम्मेदवार तय गर्ने बताए ।

रास्वपाबाट यी हुन् उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदावरको टुंगो लगाएको छ । रास्वपा पार्टी कार्यालयमा शनिबार बसेको बैठकले पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा चितवन-२ मा पार्टी सभापति लामिछाने, तनहुँ-१ मा डा वाग्ले र बारा-२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे ।

सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उले राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने दावी गरे ।

रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए ।

आयोगद्वारा उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावलीबमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक करोड ८० लाख एक हजार पाँच सय ६६ कायम रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ ।

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५, बारा क्षेत्र नं २ मा दुई सय ३७ थप भई एक लाख पाँच हजार दुई सय ४८ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक सय ८५ घटी भई एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आजसम्म देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय ३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ । सोअनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदानस्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ ।

आयोगको निर्णयानुसार चितवनमा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्लादर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली सङ्कलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ ।

सम्बन्धित समाचार