सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार तोलामा २ हजारले वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक पुगेको हो । यसअघि गत चैत ५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

स्थानीय बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार रहेकोमा मंगलबार रु १ लाख ९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ८ हजार ५०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्य अनुसार नै कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले गत आइतबार (चैत ५) गते रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ५०० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार