नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
सरकारले कोशी प्रदेशको नामकरणका विषयमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । लिम्बुको कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा निधन भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बु निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ’ प्रवक्ता शर्माले भनिन्।
त्यस्तै प्रवक्ता शर्माले बैठकले नामकरणसम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न सङ्घीय सरकारले सहजीकरण गर्ने निर्णय भएको जानकारी दिइन् ।