नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो ।
न्यायाधीश शङ्करराज बरालको इजलासले आइतबार नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको सुनुवाईका लागि आइतबार पेशी तोकेको थियो । तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा भनिएको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।