नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा मुम्बईको यो पहिलो जित हो भने दिल्लीको लगातार चौथों हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १७२ रनमा समेटियो । दिल्लीका लागि अक्षर पटेल ५४ र कप्तान डेविड वार्नरले ५१ रनको अर्धशतकीय पारी खेले भने मनिष पान्डेले २६ र पृथ्वी शाले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३-३ विकेट लिए भने रिलि मिरिडेथले २ विकेट लिँदा ऋतिक शोकिनको भागमा १ विकेट रह्यो । १७३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६५ रनको अर्धशतकीय पारी खेले भने तिलक बर्माले ४१ रन जोडे । यस्तै इसान किसनले ३१ रन जोडे । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने मुस्ताफिजुर रहमानको भागमा १ विकेट रह्यो ।
जितसँगै ३ खेलमा २ अंक जोडेको मुम्बई आठौं स्थानमा छ भने लगातार चौथो खेलमा अंक जोड्न नसकेको दिल्ली पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज खेल हुनेछ । आज हुने खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।