नवकान्तिपुर संवाददाता
काठमाडौं, २ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सनराईजर्स हैदराबाद विजयी भएको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २३ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा हैदराबाद यो लगातार दोस्रो जित हो भने कोलकत्ताको दोस्रो हार । कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले अविजित रहँदै १०० रनको शतकीय पारी खेले खेल्दा कप्तान एडेन माक्ररमले ५० रनको अर्धशतकीय योगदान दिए
। त्यस्तै अभिषेक शर्माले ३२ रन बनाई आउट भए भने हेनरिक क्लासेन १६ रनमा अविजित रहे ।
कोलकत्ताका लागि आन्द्रे रसलले ३ विकेट लिए भने वरुण चक्रवर्तीको भागमा १ विकेट रह्यो । २२९ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्र बनाउँन सक्यो । कोलकत्ताका कप्तान नितिश राणा र रिंकु सिंहले क्रमश: ७५ र ५८ रन्को अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै ओपनर नारायण जगदीशनले ३६ रन बनाए । हैदराबादका लागि मार्को यानसन र मयंक मारकान्डेले समान २-२ विकेट लिए । दोस्रो जितसँगै हैदराबाद ४ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको कोलकत्ता रनरेटमा अघि रहँदै चौंथो स्थानमा रहेको छ ।