मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।



त्यस्तै कालीकोट, रास्कोट नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघराज उपाध्याय सोही नगरपालिका-३ स्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बिनापाते डेरा गरी बस्ने नवलपरासी (पूर्व) कावासोती नगरपालिका-९ घर भएका ४० वर्षीया माया चौधरी शौचालयभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै सप्तरी, राजबिराज नगरपालिका-६ स्थित सडक छेउको खाल्डोमा सोही नगरपालिका-६ थानगाछि डेरा गरी बस्ने सप्तरी राजबिराज नगरपालिका-४ घर भएका ५५ वर्षीय गणेश साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार