चार वर्षदेखि वडाबासीलाई दुःख दिँदै बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिकाको बेवास्ता र लापर्वाहीले गर्दा विगत चार वर्षदेखि वडा नं. ६ का वडावासीले दुःख भोग्दै आएका छन् । वडाको इटालिटार र तल्लो पासिकोट जोड्ने पुलको लागि प्रदेश सरकारले बजेट छुट्याएर पुल निर्माण सम्पन्न भयो तर पुल बनाउनुभन्दा पहिला बन्नुपर्ने बाटो बन्न नसक्ता भने बनेको पुलको उपयोग हुन सकेको छैन । त्यसैले वर्षाको समयमा वडावासीले विगत चार वर्षदेखि निरन्तर दुःख झेल्दै आइरहेका छन् ।

नगरपालिकाले पहिलेको बाटो विस्तार गर्ने भनेर पुरानो पिचबाटो भत्कायो तर चार वर्ष बित्नलाग्दा समेत बाटो पुनः निर्माण गरेन वा गर्न चासो नै दिएन । अहिले प्रदेश सरकारको पहलमा पुल त बन्यो तर नगरपालिकाको बेवास्ताले गर्दा पुलसम्म पुग्ने बाटो नै बन्न सकेन । नगरपालिकाको लापर्वाही देखेर आफ्नै जनप्रतिनिधिसँग स्थानीयवासी रुष्ठ बन्न पुगेका छन् ।



इटालिटारबाट तल्लो पासिकोटसम्म पुग्ने चारसय मिटर बाटो पुल निर्माण हुनुभन्दा पहिला नै सम्पन्न भइसक्नुपर्नेमा नगरपालिका र ठेकेदारको मिलोमतोमा बर्सेनी म्याद थपेर भ्रष्टाचार गरेको स्थानीयको दावी छ । उनीहरू प्रश्न गर्छन– भ्रष्टाचार नहुने हो त पुलभन्दा पहिले सम्पन्न हुनु पर्ने बाटो अहिलेसम्म किन बनेन त ?

उक्त बाटो निर्माण गर्ने सन्दर्भमा एकीकृत नमुना टोल विकास समितिको पहलमा बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन मेयर उद्धव खरेल, वर्तमान मेयर मिठाराम अधिकारी, तत्कालीन कार्यकारी प्रमुख भुवनेश्वर लामिछनेलाई बारम्बार अवगत गराउँदासमेत कुनै प्रगति नभएको स्थानीय बसिन्दा बताउँछन् ।

६ नम्बर वडाका वडाध्यक्ष रवि खड्काको अगुवाईमा धेरै पटक मेयर मिठाराम अधिकारी र केही दिनअघि मात्र सरुवा भएका कार्यकारी प्रमुख भुवनेश्वर लामिछानेलाई बाटो बनाउन नसक्ने भए त्यसको जानकारी गराउन माग गर्दा स्थानीयवासीको अगाडि उनीहरूले सकारात्मक वचन दिने गरेको तर वचन दिएअनुसारको काम नभएको स्थानीय कृष्ण रन्जित बताउँछन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयरको बेवास्ताका कारण संघीय राजधानी काठमाडौंमा बसेर पनि तल्लो पासिकोटका जनता दुर्गम क्षेत्रको अनुभव लिन बाध्य भएको कटाक्ष गर्छन् स्थानीय मान श्रेष्ठ । त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाले चारसय मिटरको बाटो चार वर्षदेखि नबनाएर चार किलोमिटर घुम्न बाध्य बनाइएको गुनासो पोख्छन् स्थानीय आरसी कोइराला पनि ।

अबको केही दिनभित्र पनि बाटो निर्माणको कार्य आरम्भ नभए नगरपालिकाका विरुद्धमा आन्दोलनमा उत्रने मनस्थितिमा पुगेको एक स्थानीयवासीले नवकान्तिपुरलाइ जानकारी गराए ।

सम्बन्धित समाचार