नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ बैशाख ।
चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै छ ।
गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनीद्वारा जारी सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै
त्यस्तै बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ ।
गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । ‘आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ’, उनले भने, ‘सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं ।’
सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ उनको भनाइ छ । मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।
महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस