नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ बैशाख ।
बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
जसपा अध्यक्ष यादवले २८ हजार चार १५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् । यादव ले कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ प्राप्त गरि चौथोमा र आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गर्दै पाँचौं स्थानमा रहेको छिन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले आज बिहान १ बजेर ४५ मिनेटमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।