जनअनुमोदित रविको छवि : अवस्था परिवर्तनको जनअपेक्षा

रवि लामिछानेको बोली, व्यवहार र कामलाई जनताले हार्दिकतापूर्ण ढङ्गले अनुमोदन गरिदिएका छन् । प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवनको क्षेत्र नं. २ का जनताले उनीमाथि गरिएका अनेक षडयन्त्रलाई चिर्दै उनलाई भोटका रूपमा माया र विश्वास दिएर पुनः संसदको ढोका खोलीदिएका छन् । यही चुनावबाट उनी सर्वाधिक मतान्तरले विजय हुने प्रतिनिधिसभा सदस्यका रूपमा रेकर्ड पनि बनाएका छन् । उनको यस लोकप्रियताले धेरैको निद्रा हराम भएको पनि हुन सक्छ ।

रविले मात्र होइन, उनले नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको व्यानरबाट उठेका नवप्रवेशी डा. स्वर्णिम वाग्ले पनि तनहुँको क्षेत्र नं. १ बाट भारी मतान्तरले विजय भए । काङ्ग्रेसबाट असन्तुष्टि प्रकट गर्दै बाहिरिएर रास्वपामा प्रवेश भएका वाग्लेको विजय रास्वपाका लागि गर्वको विषय त हो नै, काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरूका लागि चुनौतीको विषय पनि हो । यस उपनिर्वाचनमा ठूलो मतान्तरका साथ रवि र स्वर्णिमको जितले ठूला भनिएका पार्टीहरूप्रति जनताको वितिष्णा रहेको कुरालाई प्रस्ट रूपमा सङ्केत गर्दछ ।



रास्वपातर्फको जनआकर्षणलाई आम जनताको अवस्था परिवर्तनको आकाङ्क्षालाई प्रतिविम्बित गर्दछ । नेपाली काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरू आलोपालो पटक पटक सत्तामा पुगे तर जनअपेक्षा अनुसार केही गर्न सकेनन् । आफूले पाएको अवसरमा उनीहरूले अर्को नेतालाई कटाक्ष गर्नु, रिविन काट्नु र एउटा सानो झुण्डमा रमाउँदै उनीहरूकै हितका लागि राज्यसत्ताको दुरुपयोग गर्नुबाहेक उनीहरूले उल्लेखनीय केही काम गर्न सकेनन् । रवि र स्वर्णिमप्रति उर्लेको जनलहर यसैको परिणाम हो भन्न सकिन्छ । जनताले दिनसक्ने दण्ड वा पुरस्कार भनेकै आफ्नो अमूल्य मतका माध्यमबाट हो ।

भ्रमको खेती गरेर पहिलेको जस्तो लामो समयसम्म जनतालाई उल्लु बनाउने दिन गए । सूचना, प्रविधि र चेतनाले सबै जनता अब गुहु र गोबर छुट्याउन सक्ने भइसकेका छन् । कागले कान कोट्याएको हो कि रगत चुसेको हो भन्ने पनि छुट्याउन सक्ने भइसकेका छन् । अझै पनि काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरू नसच्चिने हो भने नेता बनाउन सक्ने जनताले फेरि सडकछाप पनि बनाइदिन सक्छन् ।

रविका अवसर र चुनौती
कथित् पुराना र ठूला भनिएका पार्टीहरूले षडयन्त्रका अनेक तानावाना बुनेर रविको छवि धमिल्याउन खोजे पनि जनताले रविलाई विश्वास गरी तिनै नेताको गलत कार्यको भण्डाफोर गर्ने ठाउँमा पुर्याइदिए । रविले यस अवसरलाई ज्यादै संवेदनशील भएर सदुपयोग गर्न सके भने २०८४ सालमा हुने चुनावमा रास्वपाको वर्चश्व हुने छ । उनीमा पनि दम्भ देखियो भने जनताले पुनः उनको पनि विकल्प खोज्न सक्नेछन् । अतः रविका लागि यो कार्यकाल अवसर र चुनौती दुबै हो ।

रविका कठिनाइका दिनहरू अझै पनि सकिएका छैनन् । उनले बजाएको घण्टीबाट त्रस्त बनेका केही व्यक्ति, समूह वा पार्टीहरू अझै पनि उनलाई अगाडि बढ्नबाट रोक्न वा अप्ठ्यारो पार्न लागिपरेका हुन सक्छन् । उनी संसदको ढोकाबाट छिर्नैलाग्दा कोही कालो कोठामा बसेर उनका पखेटा काटिदिने तानाबाना बुनिरहेको पनि हुन सक्छ । शत्रु खोज्न टाढा जानु पर्दैन, उन्नति–प्रगति गर्दै गएपछि आफ्नै साथी र शुभचिन्तक पनि शत्रु बन्न सक्छन् ।

काङ्ग्रेस, एमाले र माओवादी असफल भएकै हुन्
पराजयको दोष जसले जसलाई देखाए पनि काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरू चरम असफल भएकै हुन् । उनीहरूले देश र जनतालाई दिएको वचन त पूरा गरेनन् नै, जनताको दैनिकीलाई सहज बनाउने सामान्य काम पनि गर्न सकेनन् । उनीहरू आफू त असक्षम थिए नै, अर्को कुनै योग्य व्यक्तिलाई मौका दिन पनि चाहेनन् ।

काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरू आलोपालो सत्ताको वागडोर सँभाल्ने ठाउँमा पनि पुगेकै हुन् । र, पटक पटक अवसर पनि पाएकै हुन् । चाहेको भए देउवा, ओली वा दाहालले आफूलाई अमर बनाउने काम गर्न सक्थे तर यिनीहरूसँग गफबाहेक भिजन केही रहेन छ । यी पार्टीहरूभित्र रहेका युवा भनिएका नेताहरू पनि उमेरले मात्र केही कान्छा रहेछन्, काम गर्ने तौरतरिकामा भने बूढाहरूभन्दा कुनै भिन्नता रहेन छ । अनि सबैतिरबाट निराश भएका जनताले रविलाई सम्भावनाका दृष्टिले हेर्नु र विश्वासको मत दिनु कुनै नौलो कुरा भएन । रविमा सम्भावना पनि देखियो । त्यसैले रविलाई दुई चार महिनाअगाडि मात्र राजनीतिमा आएको फुच्चे भनेर कसैले नजर अन्दाज नगरे हुन्छ, उनले बाटो बिराएनन् भने अब देशको नेतृत्व उनैको काँधमा आइपर्ने छ ।

सम्बन्धित समाचार