नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ बैशाख ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यस्तै आजै मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
नव नियुक्त मन्त्रीहरुलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराए । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ती-तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।