नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ बैशाख ।
संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्य गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।
कार्यवाहक राष्ट्रपति यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेका हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’
बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहनुभएका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो । ढिला गरी बसेको अर्काे बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उहाँको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए ।
यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको थियो ।