गोकर्णेश्वरमा ठूलो धनराशीको प्रतियोगितात्मक गजल महोत्सव 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ठूलो धनराशी पुरस्कार सहितको प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले भैरव अर्याल, रमेश विकल जस्ता मुर्धन्य साहित्यकारहरुको जन्मथलो यस क्षेत्रलाई साहित्यिक हब बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउँदै नगरपालिकाले हरेक वर्ष साहित्यका विविध पक्षलाई समेटेर प्रयोगितात्मक कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए ।



त्यसै गरी आयोजक समितिका संयोजक गोविन्द घिमिरे ‘वेदमणि’ले गजलको व्यापकता, यसको मर्म र गहिराइलाई आत्मसात गर्दै गजल सिर्जनाको फाँटलाई अझ फराकिलो पार्ने उद्देश्यका साथ आकर्षक धनराशीको पुरस्कारसहित यही वैशाख २३ गते शनिबार राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवमा कर बाहेक प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ तथा सान्त्वना पाँचजनालाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने उनले जानकारी दिए ।

आकर्षक पुरस्कार राशिको महोत्सवमा भाग लिन गजल उपलब्ध गराउने समय वैशाख १५ गते शुक्रबार साँझसम्म नेपाल, भारत लगायत विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूबाट ४५६ वटा गजल प्राप्त भएको पनि उनले जानकारी दिए ।

प्रतियोगिताका लागि प्राप्त यी गजलहरूमध्ये प्रारम्भिक मूल्यांकन समितिले उत्कृष्ट १०० वटा गजल चयन गर्ने र अन्तिम मूल्यांकन छानिएका ४० वटा गजल प्रतियोगितामा वाचन गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार