नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ बैशाख ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै छन् । आज (बिहीबार)अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् ।
हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।