नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ बैशाख ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । यसअघि २०७९ चैत २२ गते गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८०० रहेकोमा बुधबार रु १ लाख १० हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २५० रहेकामा बुधबार प्रतितोला रु १ लाख १० हजार १०० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ४२५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस अघि सुनको मूल्यले २०७९ चैत २२ गते बुधबार रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएको थियो ।