आईपीएलमा कोलकत्ताद्वारा पन्जाब पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । सोमबार राति भएको खेलमा कोलकत्ताले पन्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा कोलकत्ताको यो पन्व्हौँ जित हो भने पन्जाबको छैटौं हार । कोलकत्ताको  घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान शिखर धवनले ५७ रनको अर्धशतकीय पारी खेले भने जितेश शर्मा र साहरुख खानले समान २१-२१ रन बनाए ।



त्यस्तै ऋषि धवनले १९ रन बनाई आउट भए भने हरप्रित ब्रार १७ रनमा अविजित रहँदा लियम लिविङ्स्टोनले १५ रन जोडे । कोलकत्ताका लागि वरुण चक्रवतीले ३ विकेट किए भने हर्षित राणाले २ विकेट लिँदा सुयश शर्मा र कप्तान नितिश राणाको भागमा समान १-१ विकेट रह्यो ।

१८० रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।कोलकत्ताका लागि कप्तान नितिश राणले ५१ रनको अर्धशतकीय पारी खेले भने आन्द्रे रसेलले ४२ रन बनाए । यस्तै ओपनर जेसन रोयले ३८ रन बनाई आउट भए भने रिंकु सिंह २१ रनमा अविजित रहे ।

पन्जाबका लागि राहुल चहरले २ विकेट लिए भने हरप्रित ब्रार र नाथन एलिसको भागमा समान १-१ विकेट रह्यो ।पाँचौं जित हात पारेको कोलकत्ता ११ खेलमा ५ जित र ६ हारका साथ १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलमा ५ जित र ३ हारका १० अंक जोड्दै पन्जाब रन रेटमा पछि पर्दै तालिकाको सातौं स्थानमा कायम रहेको छ ।

 

सम्बन्धित समाचार