एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उहाँको घरमा छापा मारेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए  । नेकपा (एमाले)का सचिव र पूर्व उपप्रधानमन्त्री रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् ।

सम्बन्धित समाचार