नक्कली भुटानी शरणार्थी प्रकरण : एउटा स्टण्ड मात्र सावित नहोस्

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कद बढाउने नक्कली भुटानी शरणार्थी प्रकरणले ऐतिहासिक उचाइ प्राप्त गरेको छ । जुनसुकै उद्देश्यले यो मुद्दा उठेको वा उठाइएको भए पनि यस प्रकरणमा आम नेपालीको साथ, सहयोग र समर्थन प्राप्त भएको छ । अहिले सबैको मुखबाट एउटै आवाज मुखरित भइरहेछ– ‘दोषी कोही नछुटून् । जोसुकै होस्, देश लुट्ने सबै भ्रष्टहरूलाई जेलमा कोचेको देख्न पाइयोस् ।’

यस आक्रोसपूर्ण अभिव्यक्तिका अन्तर्य के हो भने– हामीले आदर्श मानेका सबै नेताहरू भ्रष्ट र फटाहा भए । नेपाली नेताहरू आवरणमा जेजस्ता देखिए पनि र भाषणमा जेजस्ता कुराहरू गरे पनि वास्तवमा उनीहरू आदर्श रहेनन् । उनीहरू जे बोल्छन् त्यो कहिल्यै गर्दैनन् तर जे गर्छन् त्यो कहिल्यै बोल्दैनन् । जो भ्रष्ट छन् उनीहरू नै भाषणमा नैतिकता र सदाचारका कुरा गरेर थाक्तैनन् । उज्यालोमा आदर्शका कुरा गर्नेहरू नै अध्यारो कोठामा बसेर षडयन्त्रका तानावाना बुन्छन् । भ्रष्टचार र षडयन्त्रका तानावाना बुन्नेलाई कानुनको दायरामा ल्याउने जिम्मेवारी पाएका गृहमन्त्री नै सङ्गठित अपराधका नाइके बन्छन् भने त्यो देशको अवस्था कस्तो होला ? पूर्व गृहमन्त्री बालकृष्ण खाँडको नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको संलग्नताले धेरैलाई आश्चर्यचकित पारेको छ ।



लाग्छ, बालकृष्ण खाँड, टोपबहादुर रायमाझीहरू पनि देखाउने दाँत मात्र हुन् । चपाउने दाँतहरू अझ शक्तिशाली र सशक्त हुन सक्छन् । उनीहरू संलग्न भएका पार्टीका सभापतिहरू र उनीहरू मन्त्री हुँदाका नाइके प्रधानमन्त्रीहरू यस कुराबाट अनभिज्ञ थिए भनेर कसैले पत्याउन सक्तैन । उनीहरूको जीवनशैली र रहनसहनले पनि उनीहरू चोखा थिए भन्ने आधार पुष्टि हुँदैन । सिधै नभए स्वास्नीहरू, छोरा–छोरीहरू मार्फत अकुत धनराशि उनीहरूको निजी ढुकुटीमा जम्मा भएको हुनसक्छ । निष्पक्ष अनुसन्धान हुन पायो भने त्यो पनि चाँडै प्रष्ट होला ।

लोकतान्त्रिक गणतन्त्रमा पनि कानुन सबैलाई समान छैन भन्ने कुरालाई पनि पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एयरपोर्टमा नै हथकडी लगाउने प्रहरीले बालकृष्ण खाँडलाई हथकडी लगाउने हिम्मत जुटाउन सकेन । त्यस्तै पार्टीहरूको कुरा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाराम श्रेष्ठलाई दुई करोड बार्गेनिङ गरेको एउटै अडियो सार्वजनिक भएका कारण सबै जिम्मेवारीबाट निलम्बन गरियो तर करोडौं रकम बुझाएको अडियो बाहिरीसक्ता र प्रमाणका आधारमा प्रहरीले हथकडी लगाएर मामाघर लैजाँदा समेत खाँडलाई नेपाली काङ्ग्रेले कार्वाही गर्ने आँट गर्न सकेन । खाँडप्रति सदासयता देखाउनुको कारण प्रहरीसमक्ष उनले मालिकको नाम नओकलून् भनेर हुनसक्छ । यस्तै, अडियोमा मुसिएका आरजु राणा र मञ्जु खाँडलाई प्रहरीले अहिलेसम्म समाउने आँट गर्न सकिरहेको छैन । प्रहरी चनाखो नभए आरोपितले यस काण्डमा संलग्न भएकाहरूको नाम लिएकाहरू भोलि फरार नहोलान् भन्न सकिन्न ।

उता एमालेले पनि फरार भएका टोपबहादुर रायमाझीलाई चोख्याउने प्रयास भइरहेको बुझिएको छ । उनलाई पार्टी अध्यक्षको सेटिङमा नै ‘फरार’ बनाइएको पनि गाइँगुइँ छ । यसै सन्दर्भलाई लिएर नेता त्रयको अस्वाभाविक भेटघाटलाई पनि जनसाधारणले नयाँ खिचडी बनाउने रणनीतिका रूपमा बुझेका छन् । सशक्त प्रतिपक्ष नहुने र नागरिक समाजले पनि निरन्तर खबरदारी नगर्ने हो भने यो काण्ड पनि अघिल्ला काण्डहरूजस्तै शिथिल र कमजोर हुँदै जान सक्छ । अनि, फेरि यिनै भ्रष्ट राष्ट्रघातीहरू नेपाली जनतालाई नैतिकता र सदाचारको उपदेश दिन थाल्नेछन् ।

नेताहरूको तीब्र भेटघाट किन ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएपछि शीर्ष नेताहरूले त अनुसन्धानलाई सहयोग पुर्याउन सहयोगी भूमिका खेल्नु पथ्र्योे होला तर त्यस्तो हुन सकेन । बरू उल्टै दोषीलाई जोगाउन शीर्ष नेताहरू भित्री लेख खेल्न थाले । यस प्रकरणमा एमालेका तोपबहादुर रायमाझीको नाम जोडिएसँगै एमाले अध्यक्षको दौडधुप विचारणीय छ । धेरैले अध्यक्ष ओलीको यस धपेटीका पछि रायमाझीप्रतिको सदासयता देखाएको भनेर मात्र बुझेका छैनन्, लहरो तान्दा पहरो गर्जेला कि भन्ने भयले गरिएको चलखेलका रूपमा बुझेका छन् । अब आरजु राणाको नाम जोडिएपछि देउवाको पनि अतिरिक्त सक्रियता बढ्ने निश्चित छ ।

नेताहरूले मतदाताहरूको कोमल भावनामाथि ठूलो खेलबाड गरेका छन् । चुनावका बेला जेजे वाचा गरेका थिए, त्यतातिरभन्दा देश लुट्न र राज्यकोष दोहन गर्न मात्र आफूलाई क्रियाशील गराएको देखियो । यस काण्डले नेताहरूको नक्कली राष्ट्रवाद पनि उदाङ्गिएको छ । आफ्नै देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर अरबौं कुम्ल्याउने दाउमा लाग्ने लाछीलाई नेता मान्नुपर्दा इमानदार नेपाली जनताको शिर लज्जाले झुकेको छ । अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको मान मर्दन भएको छ ।

त्यसैले पनि आरोपीलाई बयान लिने क्रममा प्रहरीले उनीहरूले यस काण्डसँग जोडिएका जोजसको नाम लिन्छन्, ती सबै राष्ट्रघातीलाई कानुनी दायरामा ल्याउनुपर्छ : यो नै सारा स्वाभिमानी नेपालीको आवाज हो । यस प्रकरणलाई लिएर अमेरिकाले समेत चासो देखाइसकेकोले नेपाललाई थप अन्तर्राष्ट्रिय बेइज्ज्यती हुनबाट जोगाउन, नेपालमा कानुनी राज्यको अवधारणा मरिसकेको छैन भनेर देखाउन र नयाँ पुस्तालाई आफ्नो देशप्रति आशावादी बनाउन पनि गृहमन्त्री श्रेष्ठले खुट्टा कमाउनु हुँदैन । यो उनको जीवनको मात्र होइन, नेपालको इतिहासकै उल्लेखनीय घटना हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई त दुई भूपू प्रधानमन्त्रीहरूले क्यान्टोनमेन्टलगायतका कुरा उठाएर सात्तो लिइसकेका हुनसक्छन् । गृहमन्त्रीले साहस नदेखाउने हो भने नक्कली भुटानी शरणार्थी प्रकरण पनि प्रचण्ड सरकारको एउटा स्टण्ड मात्र सावित हुने छ ।

 

सम्बन्धित समाचार