नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । बिहीबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बैंगलोरको यो सातौ जित हो भने हैदराबादको नवौं हार । हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । हैदराबादका लागि हेनरिच क्लासेनले १०४ रनको शतकीय पारी खेले भने ह्यारी ब्रुक २७ रनमा अविजित रहे ।
त्यस्तै कप्तान एडेन माक्ररम १८ रन बनाई आउट भए भने अभिषेक शर्माले ११ र राहुल त्रिपाठीले १५ रन जोडे । बैंगलोरका लागि माइकल ब्रेसवेल २ विकेट लिए भने मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदको भागमा समान १-१ विकेट रह्यो ।
१८७ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बैंगलोरका लागि ओपनर विराट कोहलीले १०० रनको शतकीय पारी खेले भने कप्तान फाफ डु प्लेसिसले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे ।
हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए । जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र छ मा हारसहित १४ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहँदै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ भने समान खेलबाट ४ मा जित र ९ मा हार सहित ८ अंक जोडेको हैदराबाद तालिकाको पुछारमा रहेको छ ।