नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशनअन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रा.लि., पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डि.डब्लु.सी. पाइप उत्पादन शुरु गरेको हो ।
विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन शुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि.मि. देखि १२०० मि.मि. गोलाइका पाइप उत्पादन गरिरहेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको डि.डब्लु.सी. पाइपको मापदण्ड ने.गु.नं. ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।
विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजाइन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत सकारात्मक सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
विगतमा प्रयोगमा आइरहेको कङ्क्रिट ढल पाइप को तुलनामा जडान गर्न छिटो र सजिलो, कङ्क्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतः जडानपश्चात मर्मत संभारको झञ्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुको कारण कम्पनीका अन्य उत्पादनहरु जस्तै यो उत्पादन पनि उपभोक्तहरुको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिंदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायत अन्य परियोजनाहरुका लागि समेत डि.डब्लु.सी. पाइप उत्कृष्ट हुने कम्पनीको विश्वास रहेको छ ।