चेन्नाई र लखनउ आईपीएलको प्लेअफमा

चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नाई शीर्ष चारमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्समाथि एक रनको रोमान्चक जित निकाल्दै लखनउले पनि  प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । चेन्नाईका लागि डेभोन कन्वे ८७ र ऋतुराज गायकवाडले ७९ रनको अर्धशतकीय पारी खेले ।



चेन्नाई

त्यस्तै शिभम दुवे २२ रन बनाई आउट भए भने रविन्द्र जडेजा २० र कप्तान महेन्द्र सिंह धोनी ५ रनमा अविजित रहे । दिल्लीका लागि चेतन साकरिया, एनरिच नोर्किया र खलिल अहमदले समान १-१ विकेट लिए । २२४ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान डेबिड वार्नरले ८६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अक्सर पटेलले १५ र यश धुलले १३ रन बनाउनु बाहेक अन्यले खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए भने मथिशा पथिराना र महेश थिक्शनाले समान २-२ विकेट लिँदा तुषार देशपान्डे र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो ।

दिल्ली

जितसँगै चेन्नाई १४ खेलमा ८ मा जित र ५ मा हार सहित १७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ भने समान खेलमा १० अंक जोडेको दिल्ली नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी शनिबार राति भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकत्ता नाईट राईडर्समाथि एक रनको रोमान्चक जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

लखनउ सुपर जायन्ट्स

कोलकत्ताको घरेलु मैदान इडन ग्रार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले  ५८ रनको अर्धशतकीय पारी खेले भने क्विटन डि ककले २८ रन बनाए । त्यस्तै प्रेरक मंकडले २६ रन जोड्दा आयुष बदोनीले २५ रन बनाए । कोलकत्ताका लागि सुनिल नारेन, बैभब अरोरा र शार्दुल ठाकुरले समान २-२ लिए भने हर्षित राणा र वरुण चक्रवर्तीको भागमा समान १-१ विकेट रह्यो ।

१७७ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन मात्र बनायो । कोलकत्ताका लागि रिंकु सिहले अविजित रहँदै ६७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जेसन रोय ४५, वेंकटेस अय्यरले २४ र रहमानउल्लाह गुर्बाजले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकत्ता

लखनउका लागि रवि विश्नोई र यश ठाकुरले समान २-२ विकेट लिए भने कप्तान कुर्नाल पान्ड्या र कृष्णपा गौथमको भागमा समान १-१ विकेट रह्यो । जितसँगै लखनउ १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफको  यात्रा सुरक्षित गरेको छ भने समान खेलमा १४ अंक जोडेको कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार