नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफको समीकरण पूरा भएको छ । आइतबर भएको लिग चरणको अन्तिम खेलसंगै प्ले अफ समीकरण पूरा भएको हो ।
आइतबार भएको खेलमा मुम्बई इन्डियन्स विजयी भइ प्लेअफमा प्रवेश गर्दा रोयल च्यालेन्जर्स बैंगलोर भने लिग चरणको अन्तिम खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको पहिलो खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई ८ विकेटले र गुजरात टाईटन्सले बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।
आइतबार मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो । हैदराबादका लागि मंयक अग्रवालले ८३ र भिभ्रन्त शर्माले ६९ रनको अर्धशतकीय पारी खेले भने हेनरिक केल्सनले १८ र कप्तान एडेन माक्ररम १३ रनमा अविजित रहे । मुम्बईका लागि अकाश मधवालले ४ विकेट लिए भने क्रिस जोर्डनको भागमा १ विकेट रह्यो ।
२०१ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि क्यामरन ग्रीनले अविजित रहँदै १०० रनको शतकीय पारी खेले भने कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सुर्यकुमार यादव २५ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मंयक डगरले समान १-१ विकेट लिए ।
त्यसैगरी आइतबार नै भएको दोस्रो खेलमा गुजरात टाईटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । प्लेअफमा स्थान बनाउनका लागि जित्नै पर्ने खेलमा बैंगलोर पराजित भएको हो । बैंगलोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।
बैंगलोरका लागि विराट कोहलीले अविजित रहँदै १०१ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान फाफ डु प्लेसिसले २८ रन बनाए । यस्तै माइकल ब्रेसवेल२६ रन बनाई आउट भए भने अनुज रावतले २३ रनमा अविजित रहे । गुजरातका लागि नूर अहमदले २ विकेट लिए भने यश दयाल, मोहम्मद सामी र राशिद खानको भागमा समान १-१ विकेट रह्यो ।
१९८ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि ओपनर शुभमन गिलले १०४ रनको शतकीय पारी खेले भने विजय शंकरले ५३ रनको अर्धशतकीय ईनिङ्स खेले ।
यस्तै ऋद्धिमान शाह व्यक्तिगत १२ रन बनाई आउट भए भने राहुल तिवातिया ४ रनमा अविजित रहे । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैशाख र हर्षल पटेलको भागमा समान १-१ विकेट रह्यो ।