नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
गाथा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको छलफलको लागि शनिबार सम्मको समय तोकिएको थियो ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए । नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रम भने राष्ट्रियसभाबाट भने ९ जेठमा नै पारित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।