जेलबाट रिहा भए रेशम चौधरी 

कैलालीको टीकापुर घटनाका मुख्य आरोपी तथा पूर्व सांसद रेशमलाल चौधरी रिहा भएका छन् । आज (सोमबार) बिहान सवा आठ बजे चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद्ले चौधरीको कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल बसेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो ।



चौधरी रिहा हुने भनेपछि उनका समर्थक र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता आज बिहानै कारगार परिसर पुगेका  थिए। जेलबाट छुटे लगत्तै उनी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन् । चौधरी सिधै मन्त्री क्वार्टर पुगेका हुन् ।

थरूहटको आन्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो  ।  रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

 

सम्बन्धित समाचार