नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
मलेसिविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् भने विनीफ्रेदले २० रन जोडिन् । त्यस्तै वान जुलियाले २० रन बनाई आउट भइन् भने ऐना हामिजाह हाशिमले १४ रन बनाइन् ।
नेपालका लागि रुविना क्षेत्री बेलबासेले विकेट लिइन् भने इन्दु बर्मा र कविता कुँवरको भागमा समान १-१ विकेट रह्यो । ९७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन् भने कविता कुँवरले २६ रन जोड्दा सीता रानामगरले २३ र विन्दु रावलले १७ रन बनाइन् ।
मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १-१ विकेट लिए । जितसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेल जेठ १८ मा, चौथो जेठ २० र पाँचौं तथा अन्तिम खेल जेठ २१ मा खेल्नेछ ।