नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।
भारतको ओडिसामा भएको रेल दुर्घटना हुँदा कम्तीमा २३३ जनाको निधन भएको छ भने ९०० जना घाइते भएका छन् । शुक्रबार साँझ ओडिसाको बालासोर नजिकै उक्त दुर्घटना भएको हो ।
दुर्घटनमा तीनवटा रेलहरू एक आपसमा ठोक्किएका थिए । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस पहिलो पटक मालगाडीसँग ठोक्किएको थियो र त्यसपछि अर्कोतर्फबाट आउँदै गरेको यशवन्तपुर–हावडा सुपरफास्ट रेल पटरीबाट खसेको डिब्बासँग ठोक्किएको थियो ।
यो दुर्घटना बालासोरको बहानागा बजार स्टेशन नजिक भएको हो । रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । पत्रकारसँग कुरा गर्दै उनले भने ‘रातिदेखि उद्धार कार्य जारी छ, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । जहाँ राम्रो स्वास्थ्य सुविधा छ, त्यहाँ उपलब्ध गराइनेछ । छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।’
उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ ।