नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो ।
राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनीमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो । यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ । राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।
‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् । आगामी मङ्गलबार आफूलाई मियामीको सङ्घीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन् । आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ ।
पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि उनका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन् ।