व्यङ्ग्य कविता : मुर्रा राँगा

निर्विवाद छ–
यो महिषासुरहरूको देश हो
यहाँ राँगाहरूको कमी छैन
कालो छाला भएका
चिल्ला बलिया अर्ना छन्
विदेशी ‘एड’ को छाप्रोमा
वानेश्वर खर्क राख्दै आएका
प्रभुको निगाह अनुसार
सिंहदरबार चरिचरन पाएका
भीमकाया निरोगी राँगाहरू
यथेष्ट छन्,
यद्दपि,
भैंसीको न्यास्रो मेटाउन
लोकतान्त्रिक प्रजनन् केन्द्र स्थापित गर्दै
सीमाना पारिबाट
मुर्रा राँगाको आगमन हुँदैछ
आउँ ! सबै मिलेर स्वागत गरौं
गौरवशाली क्रान्तिका खातिर !

‘लम्पी स्किन’ रोग नलागेका
नाम्ले–खोर्यातले नदागेका
महान् कान्तिकारी ती राँगाहरू
शरणार्थी हुँदै होइनन्
गर्भबाटै नागरिकता ल्याएका
माक्र्सवादी कुँडो खाने
प्राचीन कालदेखि नै
लगौंटी नलगाएका
बहुभाषिक र बहुधार्मिक छन्
तसर्थ,
तिनीहरूको आगमन जरुरी छ
आउँ, सबै मिली स्वागत गरौं ।



उहिल्यै सिम्रोनगढ चर्न भ्याएका
उपत्यका छिरेर
सदियौंदेखि हरियो घाँस चपाएका
लोकतन्त्र र गणतन्त्रको–
‘कनेक्टीभिटी’ चाल पाएका
राष्ट्रघाती छँदैछैनन्
सत्ताधारीसँग
‘सुपरहिट सम्बन्ध’ स्थापित गर्न
कालापानीको पानीमा नुहाएका
प्रजनन् क्रान्तिको यस घडीमा
तिनीहरूको आगमन हुँदैछ,
आउँ ! सबै मिली स्वागत गरौं ।

दक्षिणपन्थी भैंसी आनन्दित हुनेछन्
पूँजीवादको भकारो विस्थापित गर्न
मोमो बनाउने विषय हुँदै होइन
रातो दाम्लोमा बाँधिएर
ऐतिहासिक सन्धि सम्झौताहरू
वेत बस्न नपाउने शर्तमा
तिनीहरूको आगमन हुँदैछ
आउँ, सबै मिली स्वागत गरौं–
मुर्रा राँगाहरूलाई !!

 

सम्बन्धित समाचार