नवकान्तिपुर संवाददाता
काठमाडौं, जेठ २९ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ ढोलढुङ्गास्थित सडकमा भे.९ प ७५७२ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ३० वर्षीया पबित्रा सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुर चोकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री चन्द्रनगर गाउँपालिका-५ मोहनपुर बस्ने २१ वर्षीया सबनम खातुनको आइतबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त गाडीको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।