सर्वोच्चले दियो बाल सेनासम्बन्धी मुद्दामा प्रचण्ड, बाबुराम लगायतको नाममा यस्तो आदेश 

सर्वोच्च अदालतले तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार प्रचण्ड र भट्टराई लगायतको नाममा सर्वोच्चले यस्तो आदेश दिएको हो  ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सर्वोच्चले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको हो ।



यस्तै अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।

जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले बालसेनाका रुपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार