नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा१० केजी नै सुन रहेको दाबी गरेका छन् । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्यसचिव मिलनकुमार थापाले यस्तो बताएका हुन् ।
उनले पशुपतिमा सुनको जलहरीमा १० केजी नपुगे आफूलाई मृत्युदण्ड दिन माग गरेका छन् । समितिको बैठकमा पशपतिको १० किलो सुन चोर भनेर प्रचार गरेर ठूलो मानसिक तनाव भएको भन्दै भक्कानिंदै बरु मृत्युण्ड दिनु यस्तो आरोप नलगाउनु भन्दै सो माग गरेका हुन् । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँसु झारे । आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो ? भनि प्रश्न समेत गरे ।
त्यस्तै थापाले छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाउँदै उनले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताए । आफू कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताए ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । उनले सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभाबी आरोप लगाउन नमिल्ने बताए ।
‘सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो, त्यसबेला सिसीटिभी राखिएको थियो, त्यसको फुटेज सुरक्षित छ, बाहिर आएका सबै विषय सत्य छैनन्, सांसदहरुले पनि यस विषयमा बुझ्नुहोला’ सदस्यसचिव थापाले भने ।
पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको छ । सुनको विषय नजोखीकन कसैलाई कारबाही नगर्न पनि उनले माग गरे ।
बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।