सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३- ०२-००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल सोही नगरपालिका-३ बस्ने मकवानपुर थाहा नगरपालिका-५ घर भएकी २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बा.१४ च ९२०० नम्बरको कारको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय सोनेलाल राय यादवको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।



कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा बीआर ३० एस ९७३९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको टेम्पुले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय रामपदार्थ चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै एलेक्स न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै गोरखा, गोरखा सिरान्चोक गाउँपालिका-३ थानेस्वाँरास्थित सडकमा ग.१ ख ६४६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया पुतली सर्कीनीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार