नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । नवलपरासी (पूर्व), कावासोती नगरपालिका-७ बद्रुवा बस्ने ४० वर्षीया अन्जु महतो सोही ठाउँस्थित सिरुघारी बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी, नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-५ ओमशान्ती मार्गस्थित सडकमा सोही नगरपालिका-५ कुसुमटोल बस्ने ५५ वर्षीय सुरेश श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता सर्लाही, मलंगवा नगरपालिका-९ स्थित धान कुट्ने मिल अगाडि सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय सलमान मिकरानी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-७ बरगदवास्थित सडकमा पाल्पा वगनास काली गाउँपालिका-१ घोरबण्डा बस्ने ५० वर्षीय कुमान सिंह गाहा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, राप्ती गाउँपालिका-१ मच्छिताल बस्ने बिशाल रायमाझीको छोरा ४ वर्षीय बिन्दास रायमाझी सोही ठाउँस्थित राप्ती नदीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुली, सुनकोशी गाउँपालिका-२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ८ वर्षीय बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।