नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मेघगर्जन/चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव(debris flow) तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।